सापकोटाको उपन्यास ‘ठुटे’ लोकार्पण
पाेखरा | कात्तिक १५, २०८१
साहित्यकार दीपक सापकोटाको पहिलो उपन्यास ‘ठुटे’ आज पोखरामा लोकार्पण गरिएको छ ।
दीपशिखा साहित्य सङ्गमद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले सो उपन्यासको लोकार्पण गर्नुुभएको हो ।
कार्यक्रममा सरुभक्तले लेखनमा सङ्ख्याभन्दा गुणलाई ध्यान दिनुपर्ने उल्लेख गर्दै लेखक स्वयम्ले पठन संस्कृतिलाई बढावा दिनुपर्ने बताउनुुभयो ।
“दिनभरि तास खेलेर समय बिताउनेले पनि पढाइ र लेखाइका कुरामा भने फुर्सद नभएको बहाना बनाउँछन्”, उहाँले भन्नुुभयो, “विश्वका कैयौँ बेफुर्सिदिला व्यक्तिहरुले पढेर नै सफल जीवन बाँचेका हुन् ।” साहित्यकार सापकोटाले ठुटेमा प्रस्तुत गरेको नेपाली समाजको यथार्थले पाठकको मन जित्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।
कृतिको समीक्षा गर्दै पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पहिलो उपन्यासमै उपन्यासकारले धेरै विषयवस्तु उठान गरेको र प्रस्तुत गरिएको कथावस्तुु हाम्रै समाजको रहेको बताउनुुभयो ।
जनयुद्धकालका घटनालाई यथार्थको नजिक रहेर लेखिएको उल्लेख गर्दै उहाँले उपन्यास आकारका हिसाबले सानो भए पनि विषयवस्तुका हिसाबले बृहत् रहेको धारणा राख्नुुभयो ।
कास्कीको मादी गाउँपालिकामा जन्मेर हाल बेल्जियम बस्दै आउनुभएका लेखक सापकोटाले आफूले कृति नेपाल हुँदै लेखे पनि प्रकाशनमा भने ढिलाइ भएको जानकारी दिनुुभयो ।
कृति लेखनका क्रममा नेपाली सेना र युद्धसम्बन्धी थुप्रै कृति र चलचित्र हेरेको उल्लेख गर्दै उहाँले विषयवस्तुबारे बुझ्न विभिन्न ठाउँमा पुगेको स्मरण सुनाउनुुभयो । आफूले प्रत्यक्ष देखेका र पढेका घटनालाई उपन्यासमा उतारेको सापकोटाको भनाइ थियो ।
गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाटले अनुभूति सबैसँग हुने र तिनलाई जनताका लागि हुने गरी लेख्नुपर्ने आवश्यकता औँल्याउनुुभयो । दीपशिखा साहित्य सङ्गमका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार रुपिन्द्र प्रभावी, कृतिका सम्पादक दशरथ सापकोटालगायतले आ–आफ्नो धारणा राखनुभएको थियो ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

